२०८१ आश्विन ६, आईतबार
नवलपुर । नवलपरासी पूर्व नवलपुरको कावासोतीमा रहेको मध्यविन्दु जिल्ला अस्पतालको भवन साँघुरो हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । विसं २०६४ सालमा स्थानीयको सक्रियतामा सामुदायिक अस्पतालका रुपमा स्थापना गरिएको अस्पताललाई २०७५ फागुनमा जिल्ला अस्पतालको रुपमा परिणत गरिएको थियो ।
जिल्ला अस्पतालको रुपमा परिणत गरिएको पाँच वर्ष पुग्दा समेत व्यवस्थित भवन निर्माणको कामले पूर्णता पाउन सकेको छैन । २०६४ सालमा निर्माण गरिएको ट्रष्टको भवनबाट जिल्ला अस्पतालको सेवा प्रदान गरिदै आएको छ । तत्कालीन समयमा सेवाग्राहीको खासै चाप नहुने अवस्थामा अहिले सेवाग्राहीको चाँप बढ्दा उक्त भवनबाट सहज रुपमा सेवा प्रदान गर्न कठिनाइ भएको जिल्ला अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले बताउनुभयो ।
जिल्लामा बिमा कार्यक्रम लागू भएयता अस्पतालमा थप बिरामीका चाँप बढेको उहाँको भनाई छ । बिरामीको चाँपसँगै विभिन्न नयाँ उपचार सेवाहरू समेत थप्दै जानुपर्दा भवन साँघुरो हुँदै गएको सूचना अधिकारी सुवेदीले बताउनुभयो । ०६४ सालको अवस्थालाई हेरी निर्माण गरिएको भवन अहिलेसम्म पनि सोही संरचनामा सेवा दिनु आफैमा मुस्किल भएको उहाँको भनाई छ । ‘पहिले सेवाग्राहीको चाप कम थियो , हाल सेवाग्राहीको संख्या बढ्दो रहेको छ, अस्पतालमा नयाँ नयाँ रोगको उपचारका लागि सेवा थपिदै गएका छन् , तर भवनको र संरचना उही छ, यसले सहज रुपमा सेवा प्रदान गर्न निक्कै गाह्रो परिरहेको छ ’ सूचना अधिकारी सुवेदीले भन्नुभयो ।
सूचना अधिकारी सुवेदीका अनुसार हाल जिल्ला अस्पतालमा दैनिक सरदर ३ सय बिरामी उपचारका लागि आउने गरेका छन् । साँघुरो भवनबाट सेवा दिँदा एकै स्थानमा भिड धेरै देखिने उहाँको भनाई छ ।
जिल्ला अस्पताल भए लगतै नयाँ भवन निर्माणको काम अघि बढेको भएपनि अझै निर्माण सम्पन्न हुन नसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । चार तलाको नयाँ भवन निर्माणका काम चार वर्ष अघिनै थालिएको भएपनि भवनले पूर्णता पाउन सकेको छैन् । भवन निर्माणको काम गण्डकी प्रदेश सरकार र ‘हेचर’ संस्थाको सयुक्त लगानीमा अगाडि बढाइएको थियो । भवनको लागि चार तलाको संरचना निर्माण गरिएको छ । तर पूर्णता भने अझै पाएको छैन । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले २ करोड भवनका लागि विनियोजन गरेको छ । तर काम गर्न जिम्मा दिइएको संस्थाले कामलाई गति नदिँदा नयाँ भवन निर्माणमा विलम्ब हुँदै आएको छ ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |