२०८१ आश्विन ६, आईतबार
कावासोती । नवलपुरको कावासोती नगरपालिकाले कोभिड – १९ सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई आर्थिक सहयोग ( राहत ) रकम प्रदान गरेको छ ।
मंगलबार एक औपचारिक कार्यक्रमकाबीच मृतकका हकवाला आफन्तलाई राहत रकमको चेक हस्तान्तरण गरिएको हो । संघीय सासंद तिलक महतले मृतकका आफन्तलाई ५० हजार रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो । कावासोती नगरपालिकाले नगरभित्रका कोभिड सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिका परिवारलाई ५० हजार रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो । सोही अन्तरगत मंगलबार ६९ जनाको परिवारलाई प्रति परिवार उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको हो । कोभिडको पहिलो , दोश्रो र तेश्रो भेरियन्टका कारण मृत्यु भएका परिवारलाई राहत रकम प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्दै संघीय सांसद महतले कावासोती नगरपालिकाले गरेको यस कार्यले जनताबाट चुनिएका जनप्रतिनिधिले जनताको हरेक सुख दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिएको बताउनुभयो । रकम सानै भए पनि यसबाट केही न केही राहत हुने र जनप्रतिनिधि र स्थानीय सरकार जनताको पिरमर्कामा संगसंगै छ भन्ने आभाष दिलाउने बताउनुभयो । उहाँले कोभिडका कारण नेपाल लगायत विश्वका धेरै नागरिकले ज्यान गुमाउनु परेकाले कोभिडबाट कोही पनि अछुतो नरहेको बताउनुभयो । उहाँले मृत्यु भएर गएकाहरुको सम्झनामा आँसु बगाएर मात्रै नभई शोकलाई शक्तिमा बदलेर बाँचेकाहरूलाई जीवनयापन गर्न जरुरी रहेको बताउनुभयो ।
यस्तै कावासोती नगरप्रमुख चन्द्र कुमारी पुनले विपदले धेरै परिवार प्रभावित बनेको र कतिपयले ज्यान गुमाउनु पर्दा जनप्रतिनिधि लगायत सबैलाई दुःख तुल्याएको बताउनुभयो । उहाँले बिस्तारै बिस्तारै दुःखलाई बिर्सेर आफ्नो मनलाई सम्हालेर आत्मविश्वासका साथ जीवनमा अघि बढ्न सबैमा आग्रह गर्नुभयो । नगरपालिकाले केही समय पहिले नै राहत रकम प्रदान गर्नु खोजेको भए पनि केही प्राविधिक कारणले ढिलाई हुन पुगेकोमा माफी समेत माग्नुभएको थियो । उहाँले सानो भएपनि नगरले दुःखमा हामीलाई सम्झियो भन्ने सोचेर सहर्ष रुपमा सहयोग स्वीकार गर्न समेत अनुरोध गर्नुभयो ।
यस्तै कावासोती नगरपालिकाका उपप्रमुख प्रेमशंकर मर्दनिया थारूले कोभिड – सङ्क्रमणको सुरुको वर्षमा नगरका स्थानीय बासीलाई सिमानाकाबाट ल्याउने देखि क्वारेन्टाइन व्यवस्थापनमा त्यो समयमा जनप्रतिनिधि र सम्बन्धित सबै दिनरात नभनी लागेको स्मरण गर्नुभयो । आफन्त गुमाउँदाको पीडा सानो सहयोगले भर्न त सक्दैन तर, बेच्नेहरु जीवनयापन गर्नै पर्ने हुँदा दुःखलाई बिर्सेर संघर्ष गर्ने पर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारले दुःखमा परेका नागरिकलाई गर्नुपर्ने दायित्वलाई आत्मबोध गरेकाले विपदमा परेका परिवारलाई साथ सहयोग गर्न आफूहरू सदैव सकारात्मक रहेको उहाँको भनाई थियो ।
नगर प्रमुख चन्द्र कुमारी पुनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राकेश गुरुङ , शिक्षा शाखा प्रमुख क्षेत्र बहादुर भण्डारी , स्वास्थ्य शाखा प्रमुख कृष्ण नागीला लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सहजीकरण पारेश्वर भुर्तेलले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |