२०८१ आश्विन ६, आईतबार
तिर्थराज डुम्रे । चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाले स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” निर्माण गरेको छ । शैक्षिक वर्ष २०७९ देखि लागु गर्ने गरी नगरपालिकाले निर्माण गरेको पाठ्यक्रमको सोमबार मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्र बहादुर रानाले सार्वजनिकिकरण गर्नु भएको हो ।
विभिन्न सात वटा विषय क्षेत्र तय गरेर आधारभूत तह कक्षा १ देखि कक्षा ८ सम्मको लागि स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” तयार गरिएको मध्यविन्दु नगरपालिका शिक्षा शाखा प्रमुख टेक प्रसाद पाण्डेले बताउनुभयो । स्थानीय पाठ्यक्रम अनुसार कक्षा १, २, ३, ४, ६ र ७ मा शैक्षिक शत्र २०७९ देखि पढाई शुरु हुनेछ । कक्षा ५ र ८ मा शैक्षिक शत्र २०७८ देखि स्थानीय पाठ्यक्रम लागु हुने पाण्डेले बताउनुभयो ।
स्थानीय पाठ्यक्रममा हाम्रो मध्यविन्दु, हाम्रो सभ्यता र संस्कृति, स्थानीय पेसा, व्यवसाय र आर्थिक क्रियाकलाप, प्राकृतिक प्रकोप, विपद् व्यवस्थापन र वृक्षारोपण, हाम्रा सम्पदाहरु, स्वास्थ्य, सरसफाई र खेलकुद, हामी र हाम्रो स्थानीय सरकार गरी सात वटा विषय क्षेत्र रहेका छन् ।
स्थानीय पाठ्यक्रमले नगरपालिकाको चिनारी संगै विद्यार्थीमा ज्ञान, सिप र दक्षताको दायरा फराकिलो बनाउने मध्यविन्दु नगरपालिकाका नगरप्रमुख चन्द्र बहादुर रानाले विश्वास व्यक्त गर्नुभयो । नगरपालिकामा रहेको शिक्षा समिति, पाठ्यक्रम मस्यौदा समिति र विभिन्न शैक्षिक व्यक्तित्वहरुको अध्ययन र छलफलबाट बनेको पाठ्यक्रमले विगतको शिक्षा प्राणालीमा सुधार र नविनतम् सोचको बिकास गराउने उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाका नगर उपप्रमुख ओम कुमारी महतोले विभिन्न जातजाति, भाषा, धर्म र भेषभुषा सहित भौगलिक विविधता रहेको नगरपालिकाका सबैलाई यहाँको स्थानीय पहिचानको बारेमा विद्यालय शिक्षाबाट नै जानकारी गराउने र ज्ञान दिने विषय आफैमा महत्वपूर्ण हुने बताउनुभयो ।
मध्यविन्दु नगरपालिकाको चालु आर्थिक वर्ष २०७८÷०७९ को स्वीकृत बजेट मार्फत स्थानीय पाठ्यक्रम “हाम्रो मध्यविन्दु” तयार गरिएको हो । असोजबाट नै पाठ्यक्रम लागु गर्ने गरी तयारी भएपनि पाठ्यक्रम तयार गर्दा यहाँको आवश्यकता, त्यसको प्राथमिकता सहितको विषयमा गर्नुपर्ने अध्ययन र अन्य स्थानीय तहको अभ्यासहरु समेतलाई ग्रहण गर्दा केही ढिला गरि पाठ्यक्रम तयार भएपनि यसको कार्यान्वयनलाई प्रभावकारी रुपमा लागु गराउन सबैको दायित्व हुने नवजागरण नमुना मा.वि. चोरमाराका प्रध्यानाध्यापक एवम् पाठ्यक्रम मस्यौदा समितिका सदस्य हरी प्रसाद देवकोटाले बताउनुभयो ।
विश्व भुमण्डलीकरणको अवधारण अनुसार विश्वको हरेक कुनामा बिक्न सक्ने र रहन सक्ने जनशक्ति उत्पादन गर्ने होडमा स्थानीय स्तर बुझ्ने र यहाँका संस्कृति अनुसार रहन सक्ने विद्यार्थीको अभाव भइरहेको अवस्थामा आएको निर्माण गरिएको पाठ्यक्रमले मध्यविन्दु नगरपालिकाको विषयबस्तुलाई विश्वव्यापीकरण गर्ने र विश्वव्यापी विषयलाई स्थानीयकरण गर्न मदत पुग्ने मस्यौदा समितिका सदस्य टोक बहादुर सुनारीले बताउनुभयो ।
स्थानीय पाठ्यक्रम अनुसारको स्रोत पुस्तक निर्माणको काम अहिले भइरहेको नगर शिक्षा शाखा प्रमुख पाण्डेले बताउनुभयो ।
आज भएको पाठ्यक्रम सार्वजनिकीकरण कार्यक्रममा मध्यविन्दु नगरपालिकाका शिक्षा समिति सदस्य, विभिन्न विद्यालयका प्रध्यानाध्यापक तथा प्रतिनिधि, शिक्षक संगठनहरुको प्रतिनिधि, जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |