२०८१ आश्विन ५, शनिबार
नवलपुर । नवलपुर उर्जा मैत्री भवन निर्माणका लागि बिन (बिल्डिङ इनर्जी इफिसियन्सी इन नेपाल) परियोजना संचालनमा आएको छ ।
भवन निर्माणमा न्यून उर्जा खपत हुने सामाग्रीको प्रयोग साथै भवनको डिजाइननै उर्जा मैत्री रुपमा बनाउने उद्येश्य साथ परियोजना अघि बढेको हो । ‘भवन बलियो बनाउन बिल्डिङ कोड लागू भएको अवस्था छ , तर उर्जा लाई कसरी बचाउन सकिन्छ, बस्ने मान्छेलाई आरामदायी महसुस गराउन के गर्न सकिन्छ भन्ने उल्लेख छैन , यो कुरालाई मध्यनजर गरि बिन परियोजना आएको हो’ बिन परियोजनाका बिल्डिङ मेटेरियल एक्पर्ट सिभिल इन्जिनियर सानुबाबु डंगोलले भन्नुभयो ।
चारवर्षसम्म संचालन हुने यस परियोजना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहकार्य तथा युरोपियन युनियनको स्विच एसिया कार्यक्रमको आर्थिक सहयोगमा नेपालमा मिनर्जी प्रालीले अघि बढाएको छ । यस बाहेकका अन्य विभिन्न संस्थाहरु यो परियोजनामा साझेदार रहेकाछन् । नेपालका यो परियोजना गण्डकी, लुम्बिनी र बाग्मती प्रदेशका ६० वटा नगरपालिकामा संचालन भइरहेको छ ।
नवलपुरको कावासोती नगरपालिकामा समेत यो परियोजना संचालन हुनेछ । भवनको उर्जा दक्षतालाई मध्यनजर गरि कामहरु संचालन हुने डंगोलले बताउनुभयो । उर्जा दक्षताका लागि भवनको डिजानलाई सोही रुपमा बनाउन इन्जिनियरहरुलाई तालिम प्रदान गर्ने, भवनमा उर्जामैत्री सामाग्रीको प्रयोग बढाउने, यसका लागि कंक्रिटका सामाग्री निर्माण गर्ने व्यवसायीलाई तालिम प्रदान गर्ने, लगायतका कार्यहरु परियोजनाबाट गरिने उहाँले बताउनुभयो ।
हाल घरमा प्रयोग हुने इट्टा निर्माणमा धेरै उर्जा प्रयोग हुने गरेको र यसलाई उर्जा मैत्री रुपमा हलो ब्रिक्स प्रयोग गर्ने, हलो कंक्रिट ब्लकहरुबाट भवन निर्माण गर्ने , घरको डिजाइन गर्दा एसी ,हिटरको कम प्रयोग हुने खालबाट बनाउने र उर्जाको कम खपत हुने बनाउन परियोजनाले काम गर्नेछ । उर्जा मैत्री भवन निर्माण गर्नु स्वास्थ्यका हिसाबले समेत राम्रो हुने उहाँको भनाई रहेको छ ।
‘परियोजनाले क्षमता विकास, सचेतना र बजारीकरण, उर्जा मैत्री भवन निर्माणमा बैंकहरुसँग साझेदार गरि न्यून ब्याजदरमा लगानी गर्ने र नगरपालिकामा भवन निर्माण गर्दा उर्जा मैत्री रुपमा भवन बनाउन मापदण्ड पालन गर्ने विषय सहित मुख्य गरि चार क्षेत्रमा काम गर्छौ ’ डंगोलले भन्नुभयो ।
परियाेजनाकाे मूख्य गतिविधिहरूमा क्षमता अभिवृद्धि अन्तरगतलक्षमता अभिवृद्धिका लागि लघु, साना तथा मध्यम उघमीहरूको संगठन तथा महासंघहरूसँग सहकार्य गर्न, प्यासिभ डिजाइन निर्देशिका, डिजाइन विधि, प्राविधिक मापदण्ड तयार गर्ने । लघु, साना तथा मध्यम उघमीहरूको क्षमता अभिवृद्धि गर्ने रहेकाे छ ।
बजार प्रणाली अन्तरगता भवनहरूमा ऊर्जा दक्षता सहितको सेवा र उत्पादनको लागि बजार प्रणालीको अवधारणा सहित बजार बिस्तार गर्ने , नविनतम् बजार रणनीतिको विकास र कार्यान्वयन गर्न लघु, साना तथा मध्यम उघमीलाई सहयोग गर्ने । डिजाइन, निमार्ण, ऊर्जा प्रबलीकरण र कार्यसम्पादन अनुगमन गर्न प्राविधिक सहयोग गर्ने । ऊर्जा दक्ष भवन निमार्णका लागि चेतना अभिवृद्धिमा सहयोग पुऱ्याउने रहेको छ।
वित्तीय संसाधन तर्फ वित्तिय संसाधनका लागि वित्तिय संस्थाहरू र लघु, साना तथा मध्यम उघमीहरूबीच सम्बन्ध स्थापनामा सहजीकरण गर्ने, सरकारी निकाय तथा वित्तिय संस्थाहरूसँग सहकार्य गरी वित्तिय संयन्त्रहरूको विकास गर्ने ।भवन निमार्णसँग सम्बन्धित लघु, साना तथा मध्यम उघमीहरूलाई आर्थिक तथा नीतिगत सहूलियतमा पहुंच पुऱ्याउन सहयोग गर्ने रहेको छ।
यस्तै नीतिगत व्यवस्था अन्तरगत भवनमा ऊर्जा दक्षता प्रवर्द्धन गर्नका लागि उपयुक्त नीतिहरू तर्जुमा गर्न स्थानीय सरकारलाई सहयोग गर्ने, स्थानीय सरकारसँगको सहकार्यमा नीतिगत प्रोत्साहनका लागि सहजीकरण गर्ने । भवनमा ऊर्जा दक्षता र नवीकरणीय ऊर्जा विकास सम्बन्धी नीतिको प्रचार गर्ने रहेको डंगोलले बताउनुभयो ।
यसै बिच बिन परियोजनाले कंक्रिटका सामान निर्माण गर्ने व्यवसायीलाई तीन दिने तालिम प्रदान गरेको छ । कावासोती, बर्दघाट, देवचुली र गैंडाकोटका निर्माण व्यवसायीलाई बलियो कंक्रिट ब्लक निर्माण कसरी गर्ने, कसरी कम उर्जाको खपत हुने गरि उत्पादन गर्ने , कसरी आकर्षक रुपमा निर्माण गर्ने लगायतका विषयमा तालिम प्रदान गरिएको हो ।
तालिमको समापन सत्रमा बोल्ने सहभागिले तालिमले कसरी बलियो र कम उर्जा खपत गरि सामाग्री निर्माण गर्न सकिन्छ भन्ने विषय थाहा पाएकाले भोलीका दिनमा हलो क्रंक्रिट ब्लक निर्माणमा यसले थप सुधार गर्ने बताएका थिए ।
निर्माण व्यवसायी शिव गिरीले भवन निर्माणमा इट्टाको साटो विकल्पका रुपमा ब्लक प्रभावकारी हुने बताउनुभयो । सिमेन्टले बन्ने छत, पिल्लर बलियो हुने तर सोही सामाग्रीबाट बन्ने ब्लकको पर्खाल कमजोर हुने भन्ने नहुने भन्दै उहाँले उर्जा खपत कमगर्न समेत यसलाई जोड दिनुपर्ने बताउनुभयो ।
कावासोती नगरपालिका आर्किटेक इन्जिनियर पवन रुपाखेतिले भवन निर्माण उर्जा मैत्री प्रभावकारी भवन निर्माण गर्ने भनेर सम्झौता भएको र सोही अनुसार नगरपालिका अघि बढेको बताउनुभयो।
कावासोती नगरपालिका नगर प्रमुख विष्णुप्रसाद भुसालले वातावरणी हिसाबले ,स्वास्थ्यका दृष्टिले उर्जा मैत्री भवन निर्माण गर्नु राम्रो भएको बताउनुभयो । कम उर्जा खपत हुने खालका सामाग्रीको प्रयोग ,स्थानीय सामाग्रीको प्रयोग गर्ने साथै हलो कंक्रिटका ब्लकहरुको गुणस्तर राम्रो गराउने तर्फ लाग्नुपर्ने उहाँले बताउनुभयो । यसले उर्जाको खपत न्यूनिकरण गरि दिगो रुपमा वातावरण संरक्षणमा सहयोग पुग्ने उहाँको भनाई रहेको थियो । कावासोती नगरपालिकाले समेत उर्जा मैत्री भवन निर्माणमा परियोजनासँग सहकार्य गरि काम गर्ने उहाँको भनाई रहेको थियो ।
कावासोती सितार रिसोर्टमा तीन दिनसम्म चलेको तालिम समापन शत्रको संचालन इन्जिनियर वसन्त अधिकारीले गर्नुभएको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |