२०८१ आश्विन ५, शनिबार
नवलपुर । कावासोती नगरपालिका वडा नम्बर १२ मा संचालन भएको भोदी खेल प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाईटीले जितेको छ । थारुहरुको महान पर्व अनन्त चतुर्दशी र जितिया पर्वको अवसरमा डायमण्ड युथ सोसाइटीद्वारा राजमन्दिर खेल मैदान कावासोती १२ मा संचालित प्रतियोगिताको उपाधि डायमण्ड युथ सोसाइटीले जितेको हो ।
नवलपुर जिल्लाका विभिन्न स्थानहरुबाट ४५ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा डायमण्ड युथ सोसाइटी कावासोती १२ प्रथम हुँदै ३० हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने लौघाइ थारु समाज कावासोती ११ द्वितीय हुँदै १७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।
त्यसै गरि असरा थारु समाज कावासोती १२ तृतीय हुँदै ७ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने कावासोती शिवालयले सान्त्वना हुँदै ३ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा प्रथम, द्वितीय, तृतीय र सान्त्वना टिमले क्रमशः ८६, ८०, ७० र ३९ काँचा निकाल्न सफल भएका थिए । प्रतियोगिताको उत्कृष्ट खेलाडी डायमण्ड युथ सोसाइटीका विकास थनेत भएका थिए ।
प्रतियोगितामा विजेता तथा उप विजेतालाई कार्यक्रमका प्रमुख अतिथि एवं कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले शिल्ड र पुरस्कार रकम प्रदान गर्नुभएको थियो ।
उक्त क्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि कावासोती नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेलले भोदी खेल अत्यन्त उत्साहजनक खेल रहेको बताउनुभयो । थारु समुदायको मौलिक खेल समेत रहेको बताउँदै आगामी दिनमा यस खेललाई थप उजागर र प्रवर्द्धन गर्दै लैजानुपर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो । उहाँले कावासोती १२ मा सफलता पूर्वक खेल सम्पन्न गरेकोमा आयोजक र खेलमा सहभागी खेलाडीलाई बधाई व्यक्त गर्नुभयो।
भोदी खेल संयोजक रणबहादुर थनेतको अध्यक्षतामा प्रतियोगिताको समापन सत्र संचालन भएको थियो । उक्त कार्यक्रममा कावासोती १२ का वडा अध्यक्ष ध्रुव खनाल, कावासोती नगरपालिकाका लेखापाल विनोद सुवेदी, वडा सदस्यहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।
दुई पोलबाट प्रथम र द्वितीय हुने टिमलाई फाइनल खेलमा सहभागी गराइएको थियो । प्रतियोगितामा सबैभन्दा बढी टाचा निकाल्ने समुह विजेता हुने खेलको नियम छ । भोदी खेल थारु समुदायको परम्परागत खेल हो । दुई दिनसम्म संचालन भएको प्रतियोगिताको सहजीकरण गौमती महत्तो, किशोर खनाल, रिमबहादुर महत्तो गरेका थिए।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |