२०८१ आश्विन ५, शनिबार
कावासोती । कुनै पनि व्यक्तिको व्यवहार , बोलीचाली र हाउभाउमा अचानक परिवर्तन आएमा त्यस्ता व्यक्तिहरूमा निगरानी राख्न विज्ञले सुझाव दिएका छन् ।
सामाजिक विकास कार्यालय नवलपुरले आज गैडाकोट १२ हर्कपुरमा आयोजना गरेको आत्महत्या रोमकथाम तथा न्यूनिकरणका लागि सचेतना कार्यक्रममा डाक्टर खगेन्द्र काफ्ले उक्त कुराको सुझाव दिनुभएको हो । चितवन मेडिकल कलेजका सहप्राध्यापक एवम् मनोपरामर्श डाक्टर समेत रहनुभएका काफ्लेले आत्महत्या गर्ने मनसाय बनाएका व्यक्तिहरू कसरी चिन्ने र रोकथाम कसरी गर्ने भन्ने बारेमा जानकारी गराउँदै आत्महत्या गर्ने व्यक्तिले एकैपटकमा आत्महत्या गर्ने नभै २० देखी २५ पटकसम्मको प्रयासबाट मात्रै आत्महत्या गर्ने बताउनुभयो ।
उहाँले आत्महत्या गर्ने मनसाय बनाएको व्यक्तिको व्यवहार बोलीचाली र हाउभाउबाट उसले भन्न खोजीरहेको हुने हुँदा नजिकका घरपरिवार र साथीहरूले ख्याल गर्न सकेमा आत्महत्या रोकथाम गर्न सकिने बताउनुभयो । बारम्बार आफूलाई हरेक कामको दोषी ठान्ने , असफल भए भन्ने ,आफ्नो कारण अरुलाई पनि दुख भयो भन्ने कुरा बारम्बार गर्छ भने त्यस्ता व्यक्तिहरू आत्महत्याको जोखिममा छन भनेर बुझ्न सकिने र त्यस्ता व्यक्तलाई निगरानी राख्नुपर्ने उहाँले बताउनुभयो । मानसिक रुपमा विचलित भएको समयमा वा कुनै पनि समस्यामा परेको बेलामा त्यस्ता व्यक्तिको कुरा सुनिदिनु नै आत्महत्या रोकथामको राम्रो उपाय रहेको डाक्टर काफ्लेले बताउनुभयो । ‘हामीलाई केही समस्या कसैले सुनाउन आयो भने हामीले उसका कुरा पुरा नसुनिकन आफ्ना कुरा धेरै गर्छौ । थर्काउँछौ । आवेशमा आएर कुरा गर्छौ तर हामीले त्यस्तो गर्नु हुँदैन । पहिलो उसको कुरा सुन्नुपर्छ अनि उसैको समस्यामा आफू पनि छु भन्ने सोचेर चिन्तित भएर राम्ररी सम्झाउनुपर्छ तब मात्रै उसको मनको बोझ हल्का हुन्छ , तर हामीले उसको कुरा सुनेनौ भने उसले फेरी आफ्नो समस्या वा आफ्नो मनको कुरा कसैलाई भन्दैन अनि उ भित्रभित्रै गुम्सिएर आत्महत्याको बाटो रोज्न बाध्य हुन्छ । ’
सर्वप्रथम जोखिममा भएका व्यक्तिहरूको पहिचान गर्न सकियो भने आत्महत्या रोकथाम गर्न सकिने डाक्टर काफ्लेले बताउनुभयो । विगतमा पनि आत्महत्याको प्रयास गरेका , पारिवारिक इतिहास भएका , बारम्बार आत्महत्याको कुरा गर्ने , हीनताबोध , हरेस , निराश र आत्मग्लानि गर्ने , हालसालमा ठूलो घटना घटेका परिवार , दीर्घ मानसिक बिरामी , उपचार निरन्तर नभएको तथा विभिन्न दीर्घ रोग लागेको , दुर्व्यसनमा फसेको , एक्लोपन यस्ता व्यक्तिहरू आत्महत्याको जोखिममा भएका व्यक्तिहरू हुने डाक्टर काफ्लेले बताउनुभयो । उहाँले कार्यक्रममा सहभागि भएका सरोकारवाला सबैलाई आफ्नो वरपर रहेका त्यस्ता व्यक्तिहरू छन भने निगरानी गर्ने , परिवारका सदस्यलाई पनि यी कुरा जानकारी गराएर सचेत गराउन आग्रह गर्नुभयो । उहाँले आत्महत्याको कुरा गर्दा झनै नकारात्मक असर पर्छ की भन्ने सोच हाम्रो समाज रहेकाले त्यस्तो नभइ त्यस्ता जोखिममा रहेका व्यक्तीहरुसंग खुलस्त रुपमा कुरा गर्न सकेमा रोकथाम गर्न सकिने बताउनुभयो ।
कार्यक्रममा सहजीकरण गर्दै मध्यविन्दु जिल्ला अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुनिलराज गौतमले नेपाल र विश्वकै सन्दर्भमा आत्महत्या गर्नेमा पुरुषको संख्या बढी रहेको र आत्महत्याको प्रयास गर्नेमा महिलाको संख्या बढी रहेको जानकारी दिनुभयो । उहाँले पछिल्लो समय आठ नौ वर्षका बालबालिकाहरू समेतले आत्महत्या गर्नेक्रम बढेको भन्दै यस विषयमा गम्भिर भएर न्यूनिकरणका योजनाहरू बनाउन जरुरी रहेको औँल्याउनुभयो । उहाँले आत्महत्याको सोच नआवोस भन्नका लागि विभिन्न उपायहरू अवलम्बन गर्न सकिने बताउनुभयो । दैनिक व्यायाम , योगा गर्ने , स्वास्थ्यकर खाना खाने , पर्याप्त समय सुत्ने , घुमफिरमा जाने , कोठामा एउटै काममा नअल्झने , हास्ने , रमाउने , साथीसँग खेलेर कुरा गर्ने , जे छ त्यसैमा रमाउन सके त्यसले सकारात्मक उर्जा दिने र आत्महत्या गर्ने सोँचबाट टाढा राख्न मदत गर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरि रेग्मीले जिल्लामा आत्महत्याको अवस्थाको बारेमा जानकारी गराउँदै पछिल्लो समय आर्थिक समस्याका कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । कोभिड पछिको बढ्दो आर्थिक सङ्कटले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो । मिटर व्याज , सहकारीको ठगी जस्ता आर्थिक कारणले आत्महत्या गर्नेको सङ्ख्यामा वृद्धि भएको उहाँले बताउनुभयो । बालबालिका र किशोरकिशोरीहरुमा बढ्दो सामाजिक सञ्जालको प्रयोगले आत्महत्या बढ्दो पाइएको उहाँले बताउनुभयो । सामाजिक सञ्जालबाट चिनजान भएकै भरमा प्रेममा फस्ने , पासवर्ड सेयर गर्ने , तस्विर सेयर गर्ने र पछि तीनै तस्विरबाट ब्ल्याकमेल गर्ने जस्ता प्रविती नवलपुरमा समेत बढ्दै गएको उहाँले बताउनुभयो । त्यस्ता घटनाको सामना गर्न नसक्नेले आत्महत्याको बाटो रोज्ने गरेको उहाँले बताउनुभयो । अर्कोतर्फ अनलाइन वेटिंग पनि आत्महत्याको कारण बनेको उहाँले बताउनुभयो ।
गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा देवचुली नगरपालिका प्रमुख हरि न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै देवचुली नगरपालिका प्रमुख न्यौपानेले आत्महत्याको रोकथामका निम्ति यस कार्यक्रमले जागरुक बनाएको बताउनुभयो । आत्महत्यालाई रोक्नका लागि आफ्नो पालिकाले पनि सचेतना र जागरुकता जगाउने कार्यमा पहल गर्ने बताउनुभयो । उहाँले सहभागि सबैमा आफ्नो घरपरिवार र छरछिमेकमा आत्महत्याको जोखिममा भएका व्यक्तिको पहिचान गरेर उनीहरूलाई परामर्श गर्दै रोकथाम गर्न भूमिका निभाउनका लागि अनुरोध गर्नुभयो ।
कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख कृष्ण प्रसाद पौडेलले स्वागत मन्तव्य राख्दै आत्महत्या रोकथाम गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले प्रतिनिधि मूलक सहभागि गराई सचेतना जगाउने कार्य गरेको बताउनुभयो । कार्यक्रममा जानेका कुरालाई घरपरिवार र समुदायमा समेत जानकारी गराएर आत्महत्या विरुद्ध सचेतना जगाउन उहाँले आग्रह गर्नुभयो ।
कार्यक्रममा सूचना अधिकारी हरिशंकर शर्माले सहजीकरण गर्नुभएको थियो । भने कार्यक्रमको समापन गर्दै गैडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीले आत्महत्या रोकथाम गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा देवचुली नगर उपप्रमुख पार्वता तिवारी , देवचुली र र गैडाकोट नगरपालिकाका जनप्रतिनिधि , बाल क्लब , विद्यालय व्यवस्थापन समिति , प्रधानअध्यापक , सहकारी , आमा समूह , टोल विकास संस्थाबाट प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।
कावासोती मिडिया हाउसद्वारा संचालित
नवलपुर प्रेस डट कम
कावासोती, नवलपुर
ईमेल: [email protected]
सम्पर्क फोन- ९८४५३२८६८८
कम्पनी दर्ता नं. २३१४५२/०७६-०७७
सूचना विभाग दर्ता नम्बर: ३२३५/०७८-०७९
संचालक तथा प्रबन्ध निर्देशक: | दयाराम आचार्य |
सम्पादक: | राजु घिमिरे | समाचार प्रमुख: |
ब्यबस्थापक: | ...... |
सहायक सम्पादक: | ....... |
ग्राफिक डिजाईनर: | ..... |
कानूनी सल्लाहकार: | ....... |
बजार ब्यबस्थापक: | ...... |
प्रेस प्रतिनिधि: | तारा पौडेल |